बधाई सिन्धुवासी, जुन जित ‘नजीर’ हो

६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजना (रामेछाप) र ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना (सिन्धुपाल्चोक) ले देश र जनतालाई अन्याय गरिरहेबारेको तथ्यपूर्ण खोजअनुसन्धानमूलक रिपोर्टिङ थालेको सात महिना पुग्दैगर्दा यो मिशनले एक सफलता प्राप्त गरेको छ । न्यूज २४ टेलिभिजनमा पावरन्यूजमार्फत् हामीले थालेको यो जनपक्षीय मिशनले जुन सफलता पाएको छ यसबाट सिन्धुपाल्चोकका जनताले १५ वर्षसम्म ‘सोच्दैनसोचेका उपलब्धी’ हात पारेका छन् । यस्तो उपलब्धीको एक हिस्सा हुनसकेकामा नेपाली पत्रकारिताबाट परिवर्तनको एक आयाम रच्न सकिनेमा हाम्रो टिम गौरब गर्दछ ।
सिन्धुपाल्चोक जिल्लाको फुल्पिङ्कट्टी र तातोपानी गाविसमा १५ वर्ष अगाडि निर्मित् ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाले १५ वर्षसम्म स्थानीय जनतालाई केही अधिकार नदिएकामा हाम्रो निरन्तर दबाब, स्थानीय राजनीतिक दलका नेताको पहल र प्रभावित क्षेत्रका नागरिकले दिएका साथबीच यो मिशन सम्भव भएको हो र बिहीबार साँझ पत्रकार सम्मेलन गरी स्थानीय जनतालाई ६ प्रतिशत सेयर दिने सहमतीमा हस्ताक्षर भएको छ । यसपछि सिन्धुपाल्चोकका जनताले १ अर्ब आठ करोड रुपियाँ बराबरको सेयर प्राप्त गरेका छन् । सिन्धुपाल्चोकका प्रभावित जनताले आप्mनो जिल्लामा बनेको ठूलो आयोजनाबाट पाएका यो अहिलेसम्मकै ठूलो उपलब्धी हो ।
भोटेकोशी र स्थानीय दलका प्रतिनिधीबीच भएको चारबुँदे सहमति अनुसार भोटेकोशीले प्रतिसेयर रु. १०० को दरमा ६ प्रतिशत साधारण सेयर स्थानीयलाई दिने सहमति गरेको छ । जस अनुसार पाँच राजनीतिक दलले प्रचलित नेपाल कानुन बमोजिम भोटेकोशीमा सेयर लगानी गर्ने कम्पनी खडा गर्नेछन् र सेयर वितरण गर्ने सहमति भएको छ । त्यस्तै ४५ मेगावाटको हिसाबबाट प्रतिमेगावाट रु १ लाखको दरले प्रत्यक्ष प्रभावित दुई वटा गाविस फुल्पिङकट्टी र तातोपानीलाई प्रतिगाविस रु २२ लाख ५० हजार गरी वार्षिक ४५ लाख रुपियाँ दिने र अन्य प्रभावित गाविस (मार्मिङ, गाती, मानेश्वाँरा राम्चे, धुस्कुन, पाङ्ग्रेटार, टेकानपुर) लाई एक मुष्ठ २२ लाख ५० हजार रुपियाँ बार्षिक रुपमा भोटेकोशीले सहयोग गर्ने सहमति भएको छ । यसपछि स्थानीयले भोटेकोशीको ढलेको टावर निर्माण गर्न सहयोग पु¥याउने भनिएको छ । १५ बर्षसम्म स्थानीयलाई सेयर त के सामान्य अधिकार पनि नदिई तिनमाथि दमन गरिरहेको आयोजनाले १५ वर्षपछि ६ प्रतिशत सेयर दिनु एक लामो र निरंकुश अन्यायपछि प्राप्त उपलब्धी हो । जसले आजसम्म डलरमा महंगो दरमा नेपालको विद्युत प्राधिकरणसँग रकम असुलिरहेको छ । वर्षौंवर्षदेखि आयोजनास्थलका प्रभावित नागरिकलाई तिनको अधिकारमा दमन गरेर एकलौटी कमाइधन्दा गरिरहेको आयोजनालाई यस अवस्थासम्म झुकाउनखातिर न्यूज २४ टेलिभिजनको पावरन्यूजले करिब सात महिनादेखि निरन्तर एक शक्तिशाली अभियान सञ्चालन गरेको थियो र यसमा राजनीतिक दलका नेता तथा स्थानीयले खास साथ दिएका थिए । यो जनपक्षीय अभियानमा आवद्ध पावरन्यूज टीम र अरु सबैसबैलाई धन्यवाद अनि सिन्धुवासीलाई बधाई । हाम्रो यो अभियानले स्थापित गरेको नजीर बमोजिम हामी अब रामेछापका जनताले खिम्ती आयोजनाबाट नपाएका अधिकार स्थापित गर्नका लागि पनि बोल्नेछौं ।