यो हार हो कि जित ?

२०७२ साल असोज ३ गते आइतबार । यो देशको जीवनमा त्यस दिन उदाउने सूर्यले देशको इतिहासमाथि गर्विलो छायाँ दिनेछ र भविष्यका लागि सुनौलो किरण : भन्ठानिएको छ । सात दशकदेखिको सपनाको सवाल छ र त्यस दिन त्यही सपनाले एक साकार आकार पाउने छ, जसका खातिर यो देशमा हजारौंहजारको रगत ढोलेर सुकिगएको छ । यसबीच पनि राज्य माग्दामाग्दै ४३ जनाको आलो रगतले भिजेको छ माटो । आन्दोलनकारी र प्रहरीबीचका झडपहरु, निर्मम् आक्रमण र क्रूरताको बयान गरिसाध्य छैन । मधेशमा आन्दोलन सुरु भएको पनि एक महिनाभन्दा बढी बितिसक्यो । वातावरण अझै सामान्य हुन सकेको छैन । समय, खर्च, पात्र, प्रवृति यसबीचमा हामीले केकति गुमायौं त्यसको कुनै हिसाब नै छैन । गरिसाध्य पनि छैन । र, अब बल्ल सपनाले साकार आकार पाउन थालेको छ । तर, आकार यस्तो देखिन्छ कि, परिवर्तनका जुनजुन भेल तरेर हामी अघि बढौं भन्दै आएका थियौं, ती सारा भेलबाढीदेखि डराएर, वर्तिरै थन्किएर वा अठोट र संकल्पबिनै देश र जनता अरु बरालिएको आभास भइरहेको छ यहाँ । जस्तो कि, जनपरिवर्तनको सशक्त गोरेटो कोर्नका लागि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा गर्यौं, समानुपातिक व्यवस्थाकै बिरोध गर्यौं, थ्रेस होल्डका कुरा गर्यौं र यस्ता अरु धेरै परिवर्तनका डोजरहरु चलाउने कुरा गरेका थियौं । तर,शक्तिशाली ती सबै सपनाहरुलाई लोप्पा खुवाएर आज को जित्दैछ यहाँ ? कुन व्यवस्था र परिवर्तनको आगोले जित्दैछ यहाँ ? कस्तो सिद्धान्त, आस्था वा परिवर्तनको कुन दासले जित्न खोजेको हो ?? थाहै भएन भन्ने हामीजस्ता मान्छेहरुको संख्या धेरै भएको छ । यसबाहेका सिमान्तकृत, पिछडा, मधेशी, वा यसप्रकारका वर्गको विषय निकै परको कुरा भएको छ । तैपनि चित्त बुझाएर ‘जबर्जस्त खुशी’ हुनपरेको छ किनकी यो देशमा संविधान आउँदैछ ! र, जस्तो भएपनि संविधान ल्याएर हामीले जसरी भएपनि चित्त बुझाउन परेको छ । जसको विकल्प हालका लागि छैन । स्थितीका यस्तै तानाबानाबीच संविधान जारी गर्ने निचोड र निक्र्यौल जो भएको छ यसले एक संविधानबाट अर्को संविधानको खुड्किलो बनेको नहोस् । यो संविधान ‘जनताको जित होस्, हार होइन’। किनकी हामीले धेरै धेरै हारिसकेका छौं । हार्दाहार्दा अब हामीसँग हार्न बाकी नै केही छैनजस्तो भइसकेको छ । त्यसैले सच्याउँदै र सच्चिदै अघि बढौंं । र, खासमा हामी संविधान केका लागि बनाइरहेका छौं वा कुरिरहेका छौं भन्ने प्रश्नको जवाफ निकै जटिल छ । किनकी एक थान संविधानले हामी नागरिकलाई केके दिनेछ वा यो देशका केकस्ता समस्याको समाधान गर्नेछ भन्नेबारे कोही कति जानकार छ ? त्यो सवाल महत्वपूर्ण छ । एक थान संविधान जारी भएको भोलिपल्टै यो देशका सडकमा परेका सारा खाल्डाखुल्डी पुरिएला अनि सफा, धुलो नउडेको सडकमा गुडौंला, बाटामा हिडौला र रातारात सारा जनताका घरका भकारी भरिएलान् भन्ने सपना नदेख्दा हुन्छ । संविधान यसतो कुनै जादूको लौरो होइन । किनकी समृद्धि संविधानको बोटमा फल्दैन तर फलाउनका लागि काम गर्ने शान्ति दिन सक्दछ, छायाँसम्म दिनसक्दछ । र हामी त्यसैका लागि कुरिरहेका छौं । त्यसैले सच्याउँदै र सच्चिदै अघि बढौंं यसको पनि विकल्प रहेन हालका लागि …… prembaniya@gmail.com