शोकमा डुबेको मेरो सिन्धु

अकल्पनीय, भयावह प्राकृतिक चपेटामा परेर सिन्धुपाल्चोक, सुनकोशी पहिरोपीडित नागरिकहरु आँसुको बलिन्द्रा धारा बगाइरहेका छन् । सिला खोजेजसरी पहिरो उधिन्दै आफन्तको लाश खोज्दा पनि नभेटेर हराइरहेका १ सय २३ लाई मृत घोषणा गरिएको छ । डोजर र स्काभेटर चलाएर पहिरो उधिन्दै आफन्तको लाश खोज्नुको दैनिकी कस्तो भयो होला सिन्धुवासीलाई ? न आफन्त रहे, न आफन्तको थात्थलो रह्यो । सव अज्ञात कथाजस्तो ! क्षणभरमै यो कस्तो बिडम्बनाको ब्यहोरा भोग्नुपरेको होला ? यो कस्तो सपनाजस्तो चक्नाचुर अविश्वस्त परिस्थिती आइलागेको होला ? अनुमान गर्नुस्, रातको २ वजे सबै जना निदाइरहेका वेला एक्कासी घरवस्तीमाथिको विशाल पहाड नै खस्यो र सम्भवत् कसैले पनि एक शब्दमा आइया… पनि भन्न नपाई ती सारा मानिसहरुको जीवन समाप्त भयो ।
तीन वटा वस्तीका मानिसहरु, अरनिको राजमार्ग भएकाले आउनेजानेहरु ककसको बास पनि परेको थियो होला त्यो वस्तीमा ! कोही बाँकी रहेन, केही बाकी रहेन । घटनापछि कोहीकोहीले भन्न थाले नागपञ्चमीको दिन वस्तीमा नाग मारिएको थियो रे त्यसपछि यस्तो भयो रे । अर्थात् यो अन्तिम अध्यात्मको परिकल्पना हो कि, मान्छेलाई भौतिक परिकल्पनाले साथ नदिएपछि अन्तिममा इश्वरलाई दोष वा श्रेय दिन्छ । यस्तै छ सिन्धुपाल्चोकतिर । जब सुनकोशी थुनियो, त्यसपछि करिब १४ घण्टासम्म सुनकोशी र भोटेकोशी मिलेर बगेको त्यो नदी स्तब्ध भयो, पूरै रोकियो । र, त्यत्तिका समयसम्म थुनिएको नदी पूर्णत् खुलेको छैन ः त्यो कतिवेला फुट्ने हो भन्ने भय सवभन्दा खतराजनक छ । माङ्खा र राम्चे गाविसबीचबाट खसेको पहाडले सुनकोशी नदी थुनिएर शोकमा डुबेको सिन्धुलाई सरकारले आपतकालिन रुपमा ठूलो शक्ति प्रयोग गरेर निकटको भयलाई कम गर्नुपथ्र्यो तर पर्याप्त गरेन अनि पीडितलाई औसत न्याय गर्न पनि गरेन भन्ने आरोप छ स्थानीयको । घटनामा ३३ जनाको शव संकलन गरिएको, १२३ जना वेपत्ता तथा ४ सय ४६ जना विस्थापित रहेको तथ्याङ सरकारले प्रस्तुत गरेको छ ।
प्राकृतिक त्रासदीको यो अकल्पनिय घटनाको उद्धारका लागि अहिले नेपाली सेनाका २ सय १, नेपाल प्रहरीका १ सय ७४ र सशस्त्र प्रहरीका १ सय ७५ गरि ५ सय ५० सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गृहमन्त्री गौतमले दिएका छन् ।
उनले अहिलेसम्म सिन्धुपाल्चोकका पीडितहरुका लागि १४ लाख ५५ हजार रकम वितरण गरिएको जानकारी गृहमन्त्रीले दिएका छन् । तर, पीडितहरुले सरकार दिएको राहत नपाएको गुनासो गरिरहेका छन् । हराइरहेकाहरुलाई समेत मृतककै सरह क्षतिपूर्ति उपलब्ध गराउन थालिएको छ । जुरेको पहिरोले सुनकोसी नदी थुनिएर अरनिको राजमार्गको डेढ किलोमिटर भाग पूर्णरुपमा क्षति भई यातायात अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गर्न अध्ययन भइरहेको जानकारी गृहमन्त्री गौतमले दिएका छन् । वास्तवमा बिपतमै चिन्ने हो मान्छेले आफन्त र पराई । ठीक यतिवेला मेरो सिन्धु आफन्तको खोजीमा छ ।